भारतमा एकैदिन २ लाख ६० हजारमा कोरोना संक्रमण, १४ सयको मृत्यु

  • प्रकाशित मिति : २०७८ बैशाख ५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । छिमेकी मुलुक भारतमा एकै दिनमा २ लाख ६० हजार संक्रमित थपिएका छन् । भारतमा दिनदिनै कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। कोरोनाको दोस्रो लहर चलेसँगै दैनिक थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ।

पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिदै आएको भारतमा पछिल्लो २ लाख ६० हजार ७७८ संक्रमित पुष्टि भएका छन्। यो अघिल्लो दिनको तुलनामा ११ प्रतिशतले बृद्ध हो।



योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १९ पुगेको छ। त्यस्तै, कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ। कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ।

पछिल्लो २४ घन्टामा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन्। गत चार दिनदेखि दैनिक १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६८ पुगेको छ।

अझै ८ हजार ९४४ जना गम्भीर रहेका छन्। नेपालसँग सीमा जोडिएको बिहारमा ७ हजार ८७०, पश्चिम बंगालमा ७ हजार ७१३ र उत्तराखण्डमा २ हजार ७५७ संक्रमित थपिएका छन्।