सिमाना पौडेल ।
यस्तो लाग्छ, प्रत्येक दिन सूर्य उदाउने पनि कारण तिमी नै हौ। तिम्रो माया हो। तिम्रो अनुरोध हो। मलाई जाडो नहोस् भन्नका खातिर सूर्यलाई सधैं म नविउझिदै उदाउनु भन्ने आदेश दिने तिमी नै हौ। अँध्यारो भइराख्यो भने म सुतेको सुत्यै गर्छु। अनि त्यही भएर तिमीले मलाई उठाउन पनि सूर्यलाई उदाउनु भन्ने आदेश दिएका होलाऊ। म सुतिराखे भने school को जाने फेरि। क, ख कस्ले पढ्ने।
पढ्न त म आफैले पढ्नुपर्छ। ठुलो बन्नुपर्छ। आकाशमा प्लेन उडाउनुपर्छ। आकाशमा बादल लाग्यो भने प्लेन उडान गाह्रो होला मलाई भनेर कतै तिमीले नै सूर्यलाई उदा त भनेनौ। अँध्यारोमा प्लेन उडाउँदा गाह्रो हुन्छ, चिसो लाग्छ भनेर तिमीले सूर्यलाई उदाउनु भनेर अँध्यारो हटाएका त हैनौ। फेरि सूर्य सधैं उदायो भने म जतिबेला पनि स्कुल मै हुन्छु। तिमीलाई फेरि मेरो न्यास्रो लाग्ला। त्यही भएर म घर छिट्टै फर्किऊ भनेर पनि सूर्यलाई अस्ताउन लगाएका होलाऊ हैन। म स्कुलमा पढ्छु, खेल्छु, उफ्रिन्छु, साथीसँग झगडा पनि गर्छु, खाजा खान्छु। यी सब गर्दा मलाई थकाइ लाग्छ, निन्द्रा लाग्छ। मेरो थकाइ मेटियोस् अनि अँध्यारोमा ढुक्कले सुत्न सँकू भनेर नै तिमीले सूर्यलाई अस्ताउनु भन्यौं होला। तारा आकाशमा उदाउँछ त्यो मलाई असाध्यै मनपर्छ म रमाउछु। आकाशको तारा देखि। के मेरै खुशीको लागि त तारालाई सधैं उदा भनेका छैनौं।
तिमी मलाई कति माया गर्छौ है हरेक कुरा, हरेक चीज मेरै लागि बनाउँछौ तिमी। कति नियमबद्ध छन् तिम्रा तरिका। कहिले ठन्डा चिसो बनाउँछौ त कहिले उरेन्ठेउला गर्मी। फेरि तिमी चिसो त्यही पुस र माघमा त बोलाउँछौ नि। म धेरै आत्तिएछु। निमोनिया हुन्छ भनेर नै तिमी फेरि गर्मी बोलाउँछौ हैन यो गर्मी, जाडो, हर मौसम पनि कस्तो, तिमीले जे भन्यो त्यही मान्ने। तर म त मान्दिन नी तिमी बाहिर नजाऊ भन्छौं म जबर्जस्ती बाहिर निस्कन्छु। अनि पानी परिरहेको हुन्छ। मेरो घमण्ड तोड्न कति खप्पिस छौ है तिमी बाहिर ननिस्कि भनेको बेला मानिन भने मुसलधारे पानी पार्दिन्छौ। घाममा बाहिर ननिस्कनु भन्छौं। म घाममा निस्केर खेल्छु। अनि राति तिमी मेरो शरिरभरी घमौरा बोलाउँछौ। देखिस् बाहिर निस्कदा के हुँदो रहेछ। खै ढाडमा तिमी सुम्सुम्याउँछौ बिहान घमौरा भागिसक्छ। तिमी कति महान् छौ तर पनि कहिल्यै घमण्ड गरेनौं। तिमीलाई के आउँदैन गर्न। तिमीले भन्छौं बारीमा अब काउली, बन्दा फल्छ नभन्दै त्यसको दुइचार दिनपछि फल्छ पनि। आँप पाक्छ खाउँला भन्छौ भोलिपल्टै पाकिदिन्छ। तिमी बोल्नुमात्रै पर्छ। सबै चीज तिम्रै डरले जे भन्यो त्यही खुरूखुरू मान्छन्।
प्रकृतिका हरेक चीज यो हावा, पानी, रूखविरूवा, घामजुन सबै तिमीले जे भन्यो त्यहीँ मान्छन्। म मात्रै हुँ है नमान्ने तिम्रो प्यारो छोरो। म त रोएरै जित्छु तिमीलाई। हावाले त रून जानेको छैन है। तिमी हुरी आउँछ भन्छौं। आउँछ भुमरी आउँछ भन्छौं आउँछ गोठको छानो उडाउँछ भन्छरौ उडाउँछ। तिमी हावालाई एकछिन थकाइ मार पनि भन्दैनौ तर आफू भने छिनछिनमा पसिना पुछ्दै छहारीमा शीतलता ताप्छौ। सबैलाई तिमीले नै अह्रउँछौ। तिमीलाई अह्राउने कोही छैन। तिमी मरे पनि हुने, कमसेकम तिमी मरेपछि सबैले सुख पाउँथे अनि सबैभन्दा सुखी म। बोलाउन काल किन बोलाउन्नौ। हँ तिमीलाई मर्न मन लाग्दैन है। अरूलाई दुःख दिन मात्रै मन लाग्छ है। तिमीभन्दा त भगवान् ठुला हुन् रे नि त। भगवानले त तिमीललई बनाएको अनि मलाई पनि। तिमीले नै भनेको त हौ नि। भगवानले तिमीलाई बनाए। तिमीले सारा संसार बनायौ। जे माग्यो त्यही पूरा गर्छन् भगवानले भनेको तिमीले नै त हौ। म भगवानसँग मात्र तिम्रो आयु माग्छु।
आहा! कति रमाइलो तिमी नहुदाँ त म दिनभरि खेल्न, डुल्न, माछा मार्न, मन लागेको काम त गर्नपाउँछु। म अब भोलिदेखि भगवानको पूजा गर्छु तिमीले गरेजस्तै गरि अनि माग्छु तिम्रो मृत्युु भगवानसँग।