रूसमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ७० हजारभन्दा बढी

  • प्रकाशित मिति : २०७७ बैशाख १३, शनिबार
  • nepaltale.com

एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा थप पाँच हजार ९६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

उक्त भाइरसको सङ्क्रमणका कारण रूसमा ६८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा थप ६६ व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । त्यस्तै रूसमा सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् विगत २४ घण्टामा मात्रै रूसमा ६८२ कोरोना सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका बताइएको छ ।

देशको सबैभन्दा बढी प्रभावित मानिएको राजधानी मस्कोमा विगत २४ घण्टामा थप दुई हजार ६१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । रूसी राजधानीमा शनिबारसम्ममा ३९ हजार ५०९ जनामाा सङ्क्रमण देखिएको छ ।

रूसको उपभोक्ता अधिकार तथा मानवहितका लागि सक्रिय संस्था रोसपोट्रेवनाजोरले शनिबार एक विज्ञप्ति जारी गरी रूसमा शुक्रबारसम्ममा एक लाख ६८ हजार ५५ व्यक्तिलाई भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । भाइरस सङ्क्रमणको सुरूको अवस्थामा ल्याब परीक्षणमा पनि सङ्क्रमण पुष्टि नदेखिने हुँदा उनीहरूलाई निगरानीमा राखिएको हो ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो । अहिलेसम्ममा एकैदिन सबैभन्दा बढी यही अप्रिल १९ मा छ हजार ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

रूसको यतिवेलाकोे सबैभन्दा प्रमुख कार्य कोभिड–१९ सङ्क्रमण र सामाजिक तथा आर्थिक क्षतिको प्रभावलाई नियन्त्रण गर्ने रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बताएका थिए ।रूसी केन्द्रीय बैंकले शुक्रबार उसको प्रमुख कर्जा दरलाई सन् २०१३ पछि पहिलो पटक ०।५ प्रतिशत अङ्कले कटौती गर्दै कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिई ५.५ प्रतिशत बनाएको थियो ।