काठमाडौं। सहकर्मी पत्रकार रोहित सरदानाको निधन भएपछि आजतकका न्युज एंकरहरु लाइभमै रोएका छन्। उनीहरुले सहकर्मीको निधनमा लामो समयसम्म कार्यक्रम नै अगाडि बढाउन सकेनन्, बोल्नै सकेनन्।
लाइभमा आएका एकंरहरुले रोहितसँगको सामिप्यता, उनको परिवार, उनको व्यावसायिक दक्षतालगायतबारे कुरा गर्दै रोएका थिए।
कोरोना संक्रमण भएपछि नोएडाको एक अस्पतालमा भर्ना भएको उनको शुक्रबार अपरान्ह हृदयाघातका कारण उनको मृत्यु भएको हो।
पहिले जी न्युजको चर्चित कार्यक्रम ‘ताल ठोक के’ मा काम गरेका उनले केही समयदेखि आजतकमा ‘दंगल’ नामको चर्चित शो चलाउँदै आएका थिए। उनले सन् २०१७ मा जी न्युज छाडेका थिए।
उनीसँगै काम गरेका जी न्युजका सम्पादक सुधिर चौधरीले ट्वीट गर्दै सरदानाको निधनको खबर सुनेर आफ्नो हात काँपेको उल्लेख गर्दै भनेका छन्, ‘यो भाइरसले हाम्रो यति नजिकैबाट कसैलाई लैजान्छ भनेर कल्पनासमेत गरिएको थिएन, यसका लागि म तयार थिइनँ, यो भगवानको अन्याय हो।’
सरदाना एकहप्ता अगाडिसम्म कार्यक्रम चलाइरहेका थिए।