कोभिड–१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउन सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह

  • प्रकाशित मिति : २०७८ जेष्ठ १४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरे । अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्ट्रलाई आग्रह गरे । झण्डै २ करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरे ।

उनले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रीय निर्देशक लगायत विभिन्न दूतावासहरुमा सकारात्मक सहयोग रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए ।



भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरूको सहयोगका कारण खोप सुरु गरेपनि पछि विभिन्न कारणहरूले खोप उत्पादक कम्पनी र देशहरुले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तीब्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताए ।

उनले सरकारको विरोध गर्नेहरुले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति तोक्ने निर्णयलाई असंवैधानिक भयो भनेर विरोध गरिरहेको उल्लेख गरे । सरकारका विरोधीहरुले सरकारका अन्य कतिपय कुराहरुलाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने काम भएको र सरकारले जारी गरेका अध्यादेशहरूको सम्बन्धमा पनि विरोध भइरहेकोबारे आफु जानकार रहेको बताए । उनले विपक्षीहरुले कोभिड–१९ को दोश्रो लहरलाई राजनीतिक अभिष्ट पुरा गर्ने माध्यम बनाएको दाबी गरे ।

उनले भने, ‘कोभिड–१९ महामारीको यो दोस्रो लहर राजनीतिक हिसावले अदालतलाई दबाब दिने प्रयोजनका लागि पनि र जनदबाब सिर्जना गरेर न्याय निरुपणलाई प्रभावित गर्ने उद्देश्यले न्याय अथवा थ्रेट खडा गर्ने हिसाबले पनि यी विषयहरु उठे र उठाइए । जसले गर्दा सामाजिक दूरी कामय राख्ने कुराहरुमा कमी आयो । आस्थागत कारणले पनि धार्मिक जात्रा जस्ता कुराहरुमा भीडभाड गर्ने पर्ने कुराहरूले पनि सजिलोसँग संक्रमण फैलियो ।’