काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न खनाल–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको प्रस्तावलाई कसरी लिने भनेर निर्णय गर्न सोमवार स्थायी कमिटी बैठक बोलाएको हो।
सोमवारको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीको प्रस्तावबारे सामूहिक धारणा बनाउने एक नेताले बताए ।
ओलीले प्रस्तावमा २०७५ जेठ २ मा फर्किन कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राख्नुभएको छ ।
यता खनाल-नेपाल पक्षले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारिसकेको छ।
खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा समेत हस्ताक्षर फिर्ता लिने ओलीको सर्त पूरा गर्न नसकिने धारणा आएको थियो ।
ओलीले भनेका अरू विषय सकारात्मक भए पनि अदालतमा गइसकेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्तले फेरि पनि एकतालाई दाउपेचका रूपमा लिएको स्पष्ट भएको खनाल–नेपाल पक्षको ठहर छ । तर प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनेर ओलीले आफूले गरेको निर्णय फिर्ता लिए हस्ताक्षरबारे सोच्न सकिने ती नेताले बताए । संसद जोगाउनु मात्र आफूहरुको उदेश्य रहेको उनको भनाइ छ ।
अदालतमा बुझाइएको हस्ताक्षरलाई एकताका लागि सर्त बनाउनु नहुने खनाल–नेपाल पक्षका नेताहरुको तर्क छ । ‘प्रतिनिधिसभा विघटन र सांसदहरूको हस्ताक्षरलाई कमिटीका बैठकमा छलफल गरेर निर्णय लिन सकिने उनीहरु भनाइ छ ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आइतबार ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताका लागि आह्वान गर्नुभएको थियो ।