काठमाडौं। गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनी विश्वासको मत लिन लागेका हुन् । उनी एक साता अघि मात्र मुख्यमन्त्री बनेका थिए ।
शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दाबी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
मुख्यमन्त्रीमा नियुक्त हुन पोखरेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन जुटाएका थिए ।
६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा जनमोर्चाका कृष्ण थापालाई कारबाही गरिएपछि ५९ सांसद् रहेका छन् । मुख्यमन्त्री विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । यसअघि उनी मुख्यमन्त्री बन्दा ३१ प्रदेश सभा सदस्यले समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।
यसअघि जेठ २७ गते तत्लकालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएका थिए । उनले विश्वासको मत गुमाएपछि पोखरेललाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको हो । पोखरेलले विश्वासको मत लिन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरि ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ ।