रुपा सुनार प्रकरण : सरस्वती प्रधानको समर्थनमा सडक प्रर्दशन, छुटाउन मन्त्री नै पुगे

  • प्रकाशित मिति : २०७८ असार ९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् ।

सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले आफूलाई जातीयताका आधारमा कोठा भाडामा नदिएको आरोपमा उजुरी गरेपछि प्रहरीले बबरमहलकी घरधनी प्रधानलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।



प्रधान निर्दोष रहेको र उनलाई फसाउन खोजेको भन्दै यल जातीय समाजका २० सदस्य समाजहरु, नेपा भाषा मंका खलः, नेवा दे दबु यल, नेवा ग्वाली पुचः लगायतका प्रतिनिधि र स्थानीय घरधनीले बिरोध गरेका हुन् ।

प्रदर्शनकारीले घरधनी प्रधानले जातीय विभेद गर्ने उद्देश्यले कोठा नदिएको बताउँदै आफ्नो घरमा बस्न आएको मान्छेको चालचलन, पेशा, व्यवसाय बुझ्न मात्र कुराकानी गरेको दावी गरेका छन् । घरसल्लाह नगरी कोठा दिन नसक्ने बताउँदैमा जातीय विभेद नभएको उनीहरुले बताएका छन् ।