देउवालाई रोक्न तीन भाईले चारै सुर बाँध्ने, एक जना सभापति बन्ने सहमति

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुबीच भेट बाक्लिन थालेको छ। आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल डाकेको पूर्व सन्ध्यामा सभापतिका तीन आकांक्षी बिच महाराजगञ्जमा छलफल भएको छ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनसम्म मिलेर जाने सहमति भएको छ ।

बिहान ११ बजेबाट महामन्त्री शशांक कोइराला निवासमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र नेता प्रकाशमान सिंहबिच भेट भएको हो। भेटमा १४ औं महाधिवेशन केन्द्रित कुराकानी भएको बताइएको छ। कांग्रेस एकतावद्ध बनाउने र महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा तीन नेता बिच कुराकानी भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।



गएको सोमवारमात्र तीन नेता बिच निधि निवासमा भेट भएको थियो। पछिल्लो समय तीन नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। तीनै जना नेता कांग्रेसको संस्थापक नेताहरु महेन्द्रनारायण निधि, बीपी कोइराला र गणेशमान सिंहका छोराहरु हुन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलले सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेको बेला लिगेसी बोकेका तीन नेताको छलफल बढ्न थालेको हो। तीन भाई मिलेर देउवालाई रोक्ने र आफुहरु मध्ये एक जना सभापति बन्ने सहमति भएको श्रोतको भनाई छ।