छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्रीलाई बर्खास्त गर्न काँगेसको माग

  • प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई प्रश्न गरेको छ।

जातिय भेदभावमा छुवाछूतका आरोपितलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै महानगरीय प्रहरी परिसर पुगेका थिए।



सो घटनाबारे आपत्ति जनाउँदै काँग्रेसले अझै शिक्षामन्त्रीलाई कायम राखेकोमा श्रेष्ठका भूमिकाबारे जवाफ दिन नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

‘राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीत र आज संविधानमा लेखिएका न्यायका अक्षरको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू रु प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो। सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो।’