प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक तर्फको बहस आज सकिँदै

  • प्रकाशित मिति : २०७८ असार १३, आईतवार
  • nepaltale.com

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार चौंथो दिन सुनुवाई हुँदैछ । आइतबार रिट, निवेदक तर्फका कानुन व्यवसायीले बहस सकिने छ ।

संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा मध्ये अब, २ घण्टा ३५ मिनेट समय बाँकी छ । निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागी थप ३ घण्टा समय पाउनेछन् ।

निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन ब्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् । सभामुख अग्नि सापकोटाका कानुन ब्यवसायी सहित सरकार पक्षका कानुन ब्यवसायीलाई बहसका लागी संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट असार १० मा बरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेश कुमार सिंह, हरि उप्रेती, शेर बहादुर केसी, वोर्ण बहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।

शुक्रवार (असार ११)मा बरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणी पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, बरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका छन् ।

असार ९ मा बरिष्ठ अधिवक्ता बद्रि बहादुर कार्की, महादेव यादव, शम्भु थापा, अधिवक्ताहरू गोविन्द शर्मा बन्दी र खम्ब बहादुर खातीले बहस गरेका थिए ।