आजदेखि सरकारी पक्षको बहस, अन्तिम फैसलाको पर्खाइमा जनता

  • Published Date : 2021-06-28
  • nepaltale.com

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ। आइतबार रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आइतबार रिट निवेदकका पक्षबाट बहस सकिएको हो। इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो। सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरे।



प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधबारदेखि नियमित बहस शुरु भएको हो।

निवेदक पक्षका कानून व्यवसायीले बहसमा नेपालको संविधानको धारा ७६ (३) अन्तर्गत बनेका वर्तमान प्रधानमन्त्रीले उपधारा ५ को प्रक्रियामा सहभागी हुन नपाउने र धारा ७६ (३) को विश्वासको मत गुमाएको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नभएको जिकिर गरेका छन्।

आज बहस गर्ने सरकारी पक्षलाई १५ घण्टा बहस गर्न समय तोकिएको छ ।