बिहानै विज्ञप्ति निकालेर ओली सरकारमाथि यसरी खनिए वामदेव गौतम

  • प्रकाशित मिति : २०७८ असार १५, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेकपा एमालेका नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको भन्दै त्यसको भर्त्सना गरेका छन् ।

धान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको बताए ।



सरकारले सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन लागेको आरोप लगाए ।

‘हामीले पहिल्यैदेखि भन्दै आएका हौं, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई पूवेश गर्न दिइनुहुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन्,’ उनले भनेका छन् ।

नेता गौतमले आफूहरूले धेरै वर्षअघिदेखि भूमि बैंकको बिरोध गर्दै आएको बताए । ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेण्डा हुन् । इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,’ उनले भनेका छन् ।

उनले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउन सरकार दत्तचित्त भएर लागेको भन्दै यो नेपालको संविधान-२०७२मा उल्लेखित खास सम्प्रभुताको विरुद्ध रहेको समेत बताए । ‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडकलको कृषि कार्य हो, जहाँ व्यापारिक म्पनी हावी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन् । भारतदेखि युरोपेली मुलुकका किसानहरू यस्तो खेती प्रणालीबाट प्रताणित छन् । कतिपय मुलुकमा किसान यस्तो खेती प्रणालीविरुद्ध छन् ,’ विज्ञप्तिमा उल्लेख छ ।