माधव समूहको माग अनुसार नै एमालेले गर्यो जेठ २ मै फर्किने निर्णय!

  • प्रकाशित मिति : २०७८ असार १५, मंगलवार
  • nepaltale.com

काठमाडौं । सत्ताधारी दल नेकपा एमालेले २०७५ जेठ २ अघिकै संरचनामा फर्किने औपचारिक निर्णय गरेको छ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बसेको बैठकमा नेताहरु विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल, प्रदिप कुमार ज्ञवाली, राम बहादुर थापा, सुवासचन्द्र नेम्वाङ, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, विष्णु रिमाल लगायतको उपस्थिति थियो।

यस्तै, आजको बैठकले केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको छ

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ।

यसअघि एमालेको माधव नेपाल समूहले जेठ २ अघिकै संरचनामा फर्काउन माग गर्दै आएको थियो।

सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युुँताइदिएपछि अध्यक्ष केपी शर्मा अ‍ोली यसअघि नेपाल समूहको माग सुन्न तयार थिएनन्।

नेकपा एमालेले आज औपचारिक रुपमै जेठ २ मा फर्किने निर्णय गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

एमालेको आजको निर्णय हेर्दा अब अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आफ्नो पार्टी भित्रको एकतालाई जोगाएर अघि बढ्न तयार भएको देखिन्छ।

अध्यक्ष ओलीले यसअघि केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए।

अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका छन।

उक्त हस्ताक्षर फिर्ता भएमा पार्टीले गरेका कारबाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्ताव थियो।

यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न १६ गते बिहान ११ महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने तय गरेको थियो।

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो।

उक्त निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट पार्टी एकतालाई कायम राख्ने कोशिश भइरहेको छ।