रुपा सुनार र सरस्वती प्रधानको विवादका विषयमा अफवाह फैलाउने ६ अनलाइन बन्द

  • प्रकाशित मिति : २०७८ असार १६, बुधबार
  • nepaltale.com

काठमाडौं। प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ ।

रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए ।

यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहित रुपाले जाहेरी दिएकी थिइन् । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेकी छिन् ।

रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिइकी थिइन् ।