आज यी स्थान भारी वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह

  • Published Date : 2021-07-01
  • nepaltale.com

काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकीसहितका देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । कयौँ स्थानमा भारी वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगेलगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी सूचना केन्द्रले जनाएको छ ।

सिन्धुलीको कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेपछि धनुषा, सिरहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनेहरुलाई राति सम्मै सतर्कता अपनाउन बिहान साढे ५ बजे नै एसएमएसमार्फत सूचना पठाइएको केन्द्रले जनाएको छ ।