मुद्दा फैसला नहुँदै निर्वाचन आयोगद्वारा दल दर्ता र उम्मेदवार दर्ताको मिति तोकियो

  • Published Date : 2021-07-05
  • nepaltale.com

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ । सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले असार ३१ गते दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो ।

सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्याक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो ।



​आयोगले राजनीतिक दलहरुलाई स्वीकृति प्रदान गरिएको सूची साउन १६ गते देखि २३ गतेसम्म राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।

यस्तै आयोगले प्रतिनिधि सभा सदस्यको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ गते देखि कार्तिक १ गतेसम्मका लागि तोकिएको छ । कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले जनाएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेकाे छ ।