शिक्षामन्त्रीविरुद्ध रूपा सुनारले दायर गरेको रिटमाथि अदालतले दियो यस्तो आदेश

  • Published Date : 2021-07-07
  • nepaltale.com

काठमाडौं। आफूमाथि भएको जातीय भेदभावविरुद्ध सञ्चारकर्मी रूपा सुनारले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ ।

कोठा भाडा प्रकरणमा चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।



सर्वोच्चका न्यायाधीक कुमार रेग्मीको एकल इजलासले असार २९ गते सो घटनाबारे भइरहेका अनुसन्धान प्रक्रियासम्बन्धी प्रमाणसहित उपस्थित हुन आदेश दिएको हो ।

दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि उनले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो ।

उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए । जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको भन्दै सुनारले अदालत गुहारेकी थिइन् ।