विपक्षी गठबन्धनमा नरहने भन्दै माधव नेपालले दिए देउवालाई यस्तो सुझाव

  • Published Date : 2021-07-12
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई शुभकामना दिएका हुन् ।



बैठकपछि एमाले नेता रघुजी पन्तले वरिष्ठ नेता नेपालले बैठकमा राखेको धारणा उधृत गरेर पत्रकारहरुलाई सुनाएका थिए । ‘संविधान, लोकतन्त्र र विधिको लागि मैले सधै लड्दै आएको छु । शेरबहादुरजीले सबैलाई समेटेर लैजानुपर्नेछ । बदलिएको परिस्थितिमा नेकपा एमालेसंग पनि पर्याप्त छलफल गरेर सहकार्यसहित अगाडि बढ्नुहुने विश्वास लिएको छु’, नेपाललाई उधृत गर्दै पन्तले भने ।

वरिष्ट नेता माधवकुमार नेपालले अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएका छन्। विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने पनि बताएको पन्तले जानकारी दिए ।