जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा जाने

  • Published Date : 2021-07-13
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र जनार्दन शर्माको नेतृत्वमा र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

देउवा नेतृत्वको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने छन्। माओवादी केन्द्रबाट जनार्दनले गृह मन्त्रालय पाउने भएका छन्।



स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ ।

केपी ओली सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भएको एक नेताले बताए । यी तीनैजना नेता ओली सरकारमा मन्त्री बनेका थिएनन् ।

स्वास्थ्य मन्त्रालय कांग्रेसले नै राख्ने र मन्त्रीपनि आजै बनाउने तयारी गरिएको छ। सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो।