देउवा प्रधानमन्त्री नियुक्त हुँदै, को-को हुँदैछन् मन्त्री ?

  • प्रकाशित मिति : २०७८ असार २९, मंगलवार
  • nepaltale.com

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई केहीबेरमै नियुक्ति गर्ने तयारी गरेकी छन् । राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालका अनुसार केही बेरमा नै राष्ट्रपतिले देउवालाई नियुक्ति गर्ने तयारी छ । ओलीले सम्बोधन गर्नु अगावै देउवा प्रधानमन्त्री नियुक्त हुदैछन्।

त्यसपछि छलफलपछि मात्रै शपथ ग्रहणको समय तय हुने उनले जानकारी गराए । नेपाली कांग्रेसबाट बालकृष्ण खाँडलाई मन्त्री बनाउने तयारी गरिएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि खाँडलाई मन्त्री बनाउने तयारी गरिएको हो । अन्य मन्त्रीको टुङ्गो भने गठबन्धनसँगको छलफलपछि लाग्ने ती सदस्यको भनाइ छ । गगन थापा स्वास्थ मन्त्री बन्ने चर्चा छ भने मिनेन्द्र रिजाललाई संचार मन्त्रालयको जिम्मा लगाउने कसरत हुँदैछ।

यस्तै माओवादीका नेताहरु जनार्दन शर्मा र पम्फा भुषाललाई पनि आजै मन्त्रीमा नियुक्त गर्दैछन् । माओवादी केन्द्रले यी दुई नेताको नाम सिफारिस गरेको बताइएको छ । तर, मन्त्रालय टुंगीएपछि नारायणकाजी श्रेष्ठले उप–प्रधानमन्त्री सहित सरकारको नेतृत्व दावी गरिरहेका छन् ।

जनार्दन शर्माले पनि गृहमा दावी गरेका छन् । पम्फा भुषाललाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतको दावी छ । यद्यपि अहिले नै माओवादीले नाम सार्वजनिक नगर्ने बताएको छ । मन्त्री को बन्ने भन्ने कुरा टुंगो लागे पनि माओवादी केन्द्रले शेरबहादुर देउवासँगको छलफलपछि मात्रै नाम सार्वजनिक गर्ने बताएको छ ।

उपेन्द्र यादव समूहले क–कसलाई सरहकारमा पठाउने भन्ने विषयमा छलफल गरिरहेको छ । जसपा स्रोतका अनुसार यादव आफैं नै उपप्रधान तथा पराराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागी हुने तयारीमा छन् ।

केपी शर्मा ओलीविरुद्ध अदालतमा बहुमत जुटाउन मुख्य भूमिका खेलेको एमालेको माधव कुमार नेपाल पक्षले भने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ ।

नेपालले सोमबार अदालतको फैसलापछि आफू अब विपक्षी गठबन्धमा नरहने स्पष्ट पारेका छन् ।