ऊर्जा मन्त्रालय हाक्ने को हुन् पम्फा भुसाल ?

  • Published Date : 2021-07-14
  • nepaltale.com

काठमाडौँ। काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार आफ्नै दल काँग्रेसका दुई र माओवादी केन्द्रका दुई नेतालाई मन्त्रीमा नियुक्त गरे ।

देउवाले काँग्रेसबाट बालकृष्ण खाँणले गृह र ज्ञानेन्द्रबहादुर कार्कीले कानून तथा माओवादी केन्द्रबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री नियुक्त गरेका छन् । चारै जना मन्त्रीमा पुराना अनुहार हुन् ।



माओवादी केन्द्रबाट ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री नियुक्त भएकी नेतृ भुसाल पनि चौथोपटक मन्त्री बनेकी छन् । ०६४ मा महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीबाट उनले सरकारमा डेब्यु गरेकी हुन् । भुसाल ०६५ मा समान्य प्रशासन र ०६८ मा शान्ति मन्त्री भइन् ।

२०१९ साउन ४ गते अर्घाखाँचीमा जन्मिएकी भुसाल ललितपुर-३ बाट २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन्। यसअघि २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएकी थिइन्। उनी तत्कालीन संयुक्त जनमोर्चा नेपालका महासचिव र अध्यक्ष थिइन्।

विसं २०३३ मा अनेरास्ववियु छैटौंको सदस्यता लिई राजनीतिक जीवन सुरू गरेकी भुसाल नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य हुन्। मन्त्री भुसालले मंगलबारै सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेकी छन्।

को हुन् पम्फा भुसाल ?

नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्षसमेत हुन् पम्फा भुसाल। तत्कालीन जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुसालले विक्रम सम्बत २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन् । २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन् । फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउछिन् ।

पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३ बाट विजयी भुसाल संविधान सभा सदस्य हुँदै माओवादी केन्द्रीय सदस्य पनि थिइन् । प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट विजयी भएकी थिइन् ।

औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल इन्जिनियरिङ अन्तर्गत ग्रामीण समाजशास्त्रमा डिप्लोमा गर्नुका साथै केन्द्रिय विश्वविद्यालय किर्तिपुरबाट शिक्षाशास्त्र अन्तर्गत स्नातक गरेकी हुन् भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाज शास्त्रमा स्नातकोत्तर गरेकी छन्। माओवादी जनयुद्धमा सहभागी हुनुअघि भुसालले पुलचोक इन्जिनियरिङ क्याम्पसमा प्राध्यापन गरेकी थिइन् ।

पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन्। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्। भुसाल माआवादी जनयुद्धको क्रममा १० वर्ष भूमिगत बसेकी थिइन् ।जनयुद्धपछिको शान्ति सम्झौतामा समेत उनको विशेष भूमिका रहेको थियो।