बढ्यो विप्लवको राजनीतिक सक्रियता, बिहानै पुगे बाबुराम भेट्न

  • प्रकाशित मिति : २०७८ श्रावण १, शुक्रबार
  • nepaltale.com

काठमाडौं। प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबारदेखि एकाएक राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारस्थित उनको निवासमै पुगेर भेटेका विप्लव बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगे। कोटेश्वरमा उनले नेपालसँग छलफल गरिरहेकै समयमा प्रचण्ड पनि आइपुगे। त्यहाँ तीन नेताबीच भेटघाट मात्र भएन, एमाले अध्यक्ष केपी शर्मा ओलीइतरका सबै वामपन्थी शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नेबारे छलफलसमेत भयो।

महासचिव ‘विप्लव’ आज बिहानै आफ्ना जनयुद्दकालिन सहपाटी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भेट्न उनको निवास पुगेका छन्।

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका साथ जनयुद्ध कालका सहयोद्धा डा. भट्टराई भेट्न विप्लव शुक्रबार बिहान टोखास्थित भट्टराई निवास पुगेका हुन्।

डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले डा. भट्टराई र विप्लवबीच लामो समयपछि अन्तरंग कुराकानी भएको जानाकारी दिए।

भेटका क्रममा समसामहिक राजनितिक र पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको उनले बताए।

अर्ध भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएको विप्लबले पछिल्लो समय बामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् ।