एमाले स्थायी कमिटी बैठक, को- को पुगे ?

  • Published Date : 2021-07-16
  • nepaltale.com

काठमाडाैं। नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापा बादलपक्षका अधिकांश सदस्य निर्धारित समयमा नै बैठकस्थलमा पुगेका छन्।

तर, निर्धारित समयभित्र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका कुनै पनि सदस्य बैठकस्थल पुगेका छैनन्। नेपालपक्ष आन्तरिक छलफलमा रहेको बुझिएको छ।



एमाले कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूहरु अध्यक्षसँग कुरा गर्नका लागि बैठकस्थलमा जान लागेको बताए । कार्यदलले अध्यक्ष र महासचिवलाई आग्रह गरेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

माधव पक्षकै अर्का नेता भीम आचार्यले भने–बैठकमा हामी केही साथीहरु आउँछौ तर बैठक राख्नको लागि आग्रह गर्न आउछौं । आजकै बैठकमा हाम्रो औपचारिक सहभागिता भन्दा पनि कुरा गर्न आउने हो ।

माधव पक्षधर कार्यदल सदस्यहरुको आग्रहमै आज स्थायी कमिटी बैठक संसदीय दलको भन्दा अगाडि राखिएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

अध्यक्ष ओलीले आज ३३ सदस्यीय स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठक तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा सुरु हुँदैछ।

बैठकमा तीन अजेन्डा : १० बुँदे सहमति, सर्वोच्च अदालतको फैसला र संगठनलाई कसरी ल‌ैजाने भन्ने विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो।