गौतम अब नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने, सरकारमा सहभागी हुने संकेत

  • Published Date : 2021-07-16
  • nepaltale.com

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो । ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले नेकपा एमाले कार्यदल विघटन गर्नुका साथै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आजको स्थायी कमिटी र संसदीय दलको बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमको उपस्थित भएनन्। यसअघिको केन्द्रिय कमिटी बैठक सहभागी भएका गौतमले आजको दुबै बैठकमा सहभागी जनाएनन्। गौतम केहि दिन अघि माधव नेपाल भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। नेपालसंग भेटेपछि उनी फेरी भाडिएको बुझ्न सकिन्छ।



केन्द्रिय कमिटी बैठकमा गौतमले भनेका थिए, ‘अब म तपाईंसँग आएँ, यता–उता जान्न ।’ उनको यो शब्द दुई हप्तामै परिवर्तन भएको छ। गौतम एमाले विवादपछि कुनै पक्षमा लागेका थिएनन् तर २ हप्ता अघि अध्यक्ष ओलीले बोलाएको केन्द्रिय कमिटी बैठकमा भने सहभागी भएका थिए।

गौतमले केही दिनमै कित्ता परिवर्तन गरेका छन् । एमालेको कुनैपनि पक्षमा नलागी तटस्थ भूमिकामा रहेका गौतम अब माधवकुमार नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने टुंगोमा पुगेका हुन् ।

गौतमनिकट स्रोतका अनुसार उनले वृहत कम्युनिस्ट एकताको मार्ग नछाडी माधवकुमार नेपालसँग सहकार्य गरेर बढ्ने भएका हुन् । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाए देउवा सरकारमा सहभागी हुने तयारीमा समेत गौतम रहेका छन् ।

माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम एउटै ठाउँमा उभिएर सकभर एमालेमा संघर्ष गर्ने नभए नयाँ दल दर्ता गरी अगाडि बढ्नेबारे समेत छलफल बढाएका छन् । वृहत्त कम्युनिस्ट एकताका नाममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सहकार्य गरेर बढ्ने रणनीतिका साथ गौतम देखिएका छन् ।