माओवादी केन्द्रको संसदीय दलको बैठक ११ बजे बस्दै, यी एजेण्डामा हुनेछ छलफल

  • Published Date : 2021-07-18
  • nepaltale.com

काठमाडौं। प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्ने भएको छ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजेका लागि सिंहदरबारस्थित दलको कार्यालयमा बोलाइएको छ। बैठकमा सरकार र सदन सञ्चालनका विषयमा छलफल हुने बताइएको छ।



आइतबार नै पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन बोलाइएको छ। राष्ट्रिय सभाको अधिवेशन पनि आइतबार सुरु हुनेछ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि बनेको सरकारमा माओवादीबाट दुई जना मन्त्री बनेका छन्।

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्। सरकारमा जाने बाँकी मन्त्री नाम माओवादीले टुंग्याउन सकेको छैन।

प्रधानमन्त्री देउवाले एक महिनाभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने भएकाले उनले विश्वासको मत लिएपछि मात्र सरकारमा थप मन्त्री पठाउने माओवादीले तयारी गरेको छ।

माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुनेगरी मन्त्री बनाउने तयारी गरेको छ। जसअनुसार स्थायी समितिमा रहेका नेताहरुमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम मन्त्रीका रुपमा चर्चामा छ।

यीमध्ये श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा देखाएको एक नेताले बताए। गजुरेल र पौडेललाई प्रचण्डले यसअघि नै मन्त्री बनाउने प्रयास गरे पनि त्यसमा सफल भएका थिएनन्। त्यहीकारण यसपटक गजुरेल, पौडेल र गुरुङको नाम मन्त्रीका लागि चर्चामा छ। तर, गुरुङले भने श्रीमती यशोदा सुवेदीलाई मन्त्री बनाए आफ्नो दाबी छाड्न सक्ने माओवादीभित्र चर्चा छ।

मधेशबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ। यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ।

महिलाबाट पम्फा भुसाल मन्त्री भइसकेकाले अब बढीमा २ जना महिला नेताले मन्त्री हुने अवसर पाउने बताइन्छ। त्यसो भएमा जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ। नारायणकाजी श्रेष्ठ मन्त्री नभएमा उनको समूहबाट अन्जना विशंखे र शशि श्रेष्ठमध्ये एक जना मन्त्री हुन सक्ने देखिएको छ। नारायणकाजी मन्त्री भएमा चाहिँ जयपुरी घर्तीको मन्त्री बन्ने सम्भावना बलियो छ।

यसबाहेक सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा रहेको माओवादी केन्द्रका एक नेताले बताए। मन्त्रीका लागि धेरै आकांक्षी हुँदा नाम टुंग्याउन माओवादीमा सकस छ। यद्यपि, केहीदिन अघि बसेको माओवादीको स्थायी समिति बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।