एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष सहभागी होला?

  • प्रकाशित मिति : २०७८ श्रावण ३, आईतवार
  • nepaltale.com

काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बस्दैछ। आइतबार बिहान ११ बजे तुलसीलाल स्मृति भवन च्यासल, ललितपुरमा बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

यसअघि शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने, सर्वोच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो।

तर, बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको थिएन। बैठक रोक्न माग गर्दै कार्यदलमा रहेका नेपाल पक्षका नेताहरू बैठकस्थल पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक रोक्ने कुनै संकेत नगरेपछि उनीहरू बाहिरिएका थिए।

आजको बैठकमा पनि नेपाल पक्ष जाने नजाने निश्चित भइसकेको छैन।

आइतबार नै पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन बोलाइएको छ। राष्ट्रिय सभाको अधिवेशन पनि आइतबार सुरु हुनेछ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि एमाले प्रमुख प्रतिपक्ष बनेको छ।

जसका कारण एमालेभित्रको एकता पनि अन्योलमा परेको छ। शनिबार विघटित कार्यदलका नेताहरूले सिंहदरबारमा अनौपचारिक छलफल गरेका थिए।

सिंहदरबारको छलफलमा उनीहरूले यसअघि भएको १० बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएका थिए। संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नयाँ सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाएर पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको बैठकपछि बताएका थिए।

कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो ।

त्यसपछि विघटित कार्यदलमा रहेका नेताहरूले शनिबार साँझै अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

भेटमा ओलीले एमालेको एकता जोगाउने पहलका निम्ति पहिले वरिष्ठ नेता माधवकुमार नेपालसित कुरा गर्न आग्रह गरेका छन्।

ओलीलाई भेटेका विघटित कार्यदलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य गोकर्ण विष्टले एकताको आधार १० बुँदे सहमति भएकाले यही आधारमा पार्टी जोगाउनका लागि पार्टी अध्यक्षका हिसाबले भूमिका खेल्न ओलीलाई आग्रह गरेको बताए।