माधव नेपाल भेट्न पुगे नेपाल पक्षका नेताहरु, देउवालाई आज विश्वासको मत देलान् ?

  • Published Date : 2021-07-18
  • nepaltale.com

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताए । ​तर अर्का एक माधव पक्षीय नेताले विश्वासको मतका बारेमा समेत छलफल हुने बताए ।



‘विश्वासको मतका बारेमा छलफल गर्ने आजको एजेन्डा त थिएन तर, प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी भएको बुझिएको र आजै संसद् समेत रहेकाले स्वाभाविक रूपमा कुराकानी हुन्छ ’ ती नेताको भनाइ छ ।

यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमालेको ओली पक्षले देउवालाई विश्वासको मत नदिने यसअघि नै स्पष्ट पारेको छ । तर एमालेको माधव पक्षले भने यसबारेमा केही बताइसकेको छैन । यद्यपि सर्वोच्च अदालतको गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।