देउवाले आज विश्वासको मत पाउने सम्भावना कति ? यस्तो छ अंकगणित

  • Published Date : 2021-07-18
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।



विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको आवश्यकता पर्छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

विश्वासको मतका बारेमा छलफल गर्न माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ।