आज सार्वजनिक मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू ?

  • Published Date : 2021-07-19
  • nepaltale.com

काठमाडौं। साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि निर्णय बारे जानकारी दिँदै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकहरुलाई आग्रह गरिएको बताए ।



सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री कार्कीले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आजको निर्णयअनुसार अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको छ ।

त्यस्तै सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा.रामप्रसाद घिमिरे सचिवमा बढुवा भएकाे जानकारी दिए । बढुवा सिफारिस समितिको केही दिनअघि बसेको बैठकले जेष्ठतातर्फ शर्माको नाम मात्रै सिफारिस गरेको थियो भने कार्यसम्पादनतर्फ घिमिरेसँगै दोस्रो नम्बरमा हरीप्रसाद मैनाली र तेस्रो नम्बरमा डिल्लीराज शर्माको नाम पनि सिफारिस गरेको थियो ।

त्यसैगरी प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सोमबार दिउँसो नै बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेलसँगै दोस्रो नम्बरमा डा. दिपेन्द्ररमण सिंह र तेस्रो नम्बरमा महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।