गण्डकीमा आज मन्त्रिमण्डल विस्तार हुँदै, माओवादीबाट तीन जना को-को मन्त्री ?

  • प्रकाशित मिति : २०७८ श्रावण ८, शुक्रबार
  • nepaltale.com

काठमाडौं। गण्डकी प्रदेशमा आज दिउँसो मन्त्रिमण्डल बिस्तार हुँदैछ। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) बाट थप ३ जना मन्त्री हुँदैछन्। आज दिउँसो १ बजेसम्म मन्त्रिमण्डल बिस्तार हुने र आजै मन्त्रीहरूको शपथ गर्ने सम्भावना छ।

माओवादी केन्द्रबाट रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती मगर गरी ३ जना मन्त्री बन्न लागेका हुन्।

बराललाई अर्थ, बुढालाई कृषि र चर्ती मगरलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। माओवादी केन्द्रबाट यसअघि मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन्।

नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन सरकार बनेको थियो। जेठ २९ मा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए।

तर, सरकार गठन भएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले भने पूर्णता पाउन सकेको छैन। अहिलेसम्म मन्त्री टुंगो लगाउन नसकेको कांग्रेसले राख्ने मन्त्रालय भने टुंगिएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ।

यसअघि कांग्रेसबाट कुमार खड्का सामाजिक विकास मन्त्री बनिसकेका छन्। उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ।

जनता समाजवादी पार्टीले प्राप्त गर्ने थप एक मन्त्रालय पनि निश्चित भएको छैन।

गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयका सन्दर्भमा भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउनमा ढिलाइ भइरहेको छ।

मुख्यमन्त्री पोखरेलले यसबीचमा काठमाडौं आएर गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रिमण्डल बिस्तारमा सहजीकरण गरिदिन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग आग्रह गरेका थिए।

गण्डकीमा मन्त्रिपरिषद बिस्तारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठबीच पनि हिजो कुराकानी भएको थियो।