यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को बैठकका महत्वपूर्ण निर्णयहरू

  • Published Date : 2021-07-27
  • nepaltale.com

काठमाडौँ। सरकारले तीन प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।



अहिले प्रदेश २ मा राजेश अहिराज, गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुखमा छन्। उनीहरु क्रमशः २०७७ फागुन ७, २०७८ वैशाख २० र २०७६ कात्तिक १८ गते नियुक्त भएका थिए।

दुई साताअघि नयाँ सरकार गठन भएपछि सरकारले प्रदेश प्रमुख हेरफेर गर्ने प्रयास गरेको हो। त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​ मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

​प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २५ देखि बिदामा बस्दैछन् । अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् । उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् ।

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित छन् ।