मध्य भोटेकोशीको शेयर भर्ने समय थप, अब साउन समान्तसम्म भर्न पाइने

  • प्रकाशित मिति : २०७८ श्रावण १६, शनिबार
  • nepaltale.com

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ।

भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्कासन तथा बिक्री खुला अवधिको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ।

अब सिन्धुपाल्चोकबासीले साउन मसान्तसम्म भोटेकोशीको आईपीओ भर्न पाउने भएका छन्। मध्य भोटेकोशीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शेयर निष्कासन तथा बिक्री खुला अवधि साउन ३२ गतेसम्म कायम भएको जनाएको छ।

तोकिएको समयावधिभित्र माग भए बमोजिमको शेयर बिक्री हुने सम्भावना कम देखिएकाले १५ दिन समावधि थप गर्ने भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिको साउन १४ गतेको बैठकले निर्णय गरेको क्यापिटलले जनाएको छ।

यसअघि निषेधाज्ञाका कारण गत वैशाख १४ गते विक्री बन्द गरिएकोमा पुनः विक्री खुला गरिएको थियो। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ।