एमालेले बोलायो स्थायी कमिटी बैठक, सहमति नभई नेपाल पक्ष नजाने

  • प्रकाशित मिति : २०७८ श्रावण १६, शनिबार
  • nepaltale.com

काठमाडौं। नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ। आज दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन, च्यासल ललितपुरमा बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणका विषयमा छलफल हुने तामाङले बताए।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ। सहमति नभई कुनै पनि बैठकमा नजाने नेपाल पक्षको अडान छ।

‘अहिलेकै अवस्थामा बैठकमा सहभागी हुँदैनौं। सहमतिका लागि प्रयास जारी छ। कुनै सहमति भएको खण्डमा बैठकमा सहभागी हुन सकिन्छ’, नेपाल पक्षका एक नेताले भने।

विभाजनको संघारमा पुगेको भनिएको एमालेभित्र पछिल्लो समय एकताका लागि पहल भइरहेको छ। दुवै तर्फका पाँच/पाँच जना नेता रहेको कार्यदलले सहमतिको दश बुँदे प्रस्ताव तयार पारेको थियो। तर, एमाले एकता टुंगोमा पुग्न सकेको छैन।

यता, नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्यममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने बताए।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा शुक्रबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको स्पष्ट पारे।

माधव नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए।

ओली पक्षले नेपाल समूहलाई अब धेरै नकुर्ने मनस्थिति बनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेलाई एकताबद्ध पार्नका लागि सहमति कायम गर्ने प्रयत्न धेरै गरिसकेको भन्दै अब सहमतिकै लागि भनेर लामो समय नकुर्ने बताएका थिए।

शुक्रबार आफूनिकट नेताहरुसँग उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरै पर्खिन नसक्ने स्पष्ट पारेका हुन्। त्यसकै लागि ओलीले आफ्नो समूहमा आजसम्मको ‘डेडलाइन’ तोकेका छन् र त्यो समयसम्म सहमति नजुटे एमालेको स्थायी कमिटी बैठक राखेर अघि बढ्ने बताएका थिए। सोही अनुसार आजको बैठक बोलाइएको छ।