निर्णायक गृहकार्यमा एमालेको नेपाल पक्ष, केन्द्रीय कमिटी बैठक आज पनि

  • प्रकाशित मिति : २०७८ श्रावण २२, शुक्रबार
  • nepaltale.com

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। बिहीबारदेखि काठमाडौंमा जारी बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन्।

हिजोको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि बस्न लागेको हो। हिजोको बैठकमा केही केन्द्रीय सदस्यहरु विजय पौडेल, दिनेश राई, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सावित्रा भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अरुण नेपाल, निरा जैरु, चुडमणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, भानुभक्त जोशी लगायतले आ-आफ्नो विचार राखेका थिए।

बैठकका सहभागी नेताहरुले पार्टीको अन्तरबिरोधका विषयमा आफ्नो धारणा राखेका थिए। बुद्धनगरस्थित क्वालिटी क्यांक्वेटमा जारी बैठकमा सहभागी अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन्।

बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएर हस्ताक्षर गरेको एक नेताले जानकारी दिए। बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको छ। पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा आफू पक्षका नेताहरूको धारणा बुझ्नका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन्।

बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए। बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए।

नेपालले अध्यक्ष ओलीको समूहमा समस्या रहेकाले आफूहरु सोचविचार गरेर अघि बढ्नुपर्ने बताएका थिए।

‘हाम्रो पूर्ववार्ता टोलीले स्टेपवाइज, समग्रमा प्रस्ताव तयार गर्नुपर्दछ,’ नेपालले बैठकमा भनेका थिए, ‘त्यसमा पनि महाधिवेशन, अधिवेशन, सदस्यतालगायतको कुरा छ, हामीले त्यसमा विशेष ध्यान दिनुपर्छ।’

केन्द्रीय कमिटी बैठकअघि नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको थियो।