देउवालक्षित रामचन्द्रको टिप्पणी– सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुगे

  • Published Date : २०७८ श्रावण २५, सोमबार
  • nepaltale.com

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सर्वत्र असफल व्यक्ति भनेका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको टिप्पणी गरेका छन्।

उनले देउवाले समयमै महाधिवेशन गर्न नसकेको आशय व्यक्त गरेका छन्। पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्षमा पनि हुन नसकेको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका छन्।



यसलाई उनले नेतृत्वको चरम लापरबाही र असफलताको रुपमा अर्थ्याएका छन्।

‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ?’, पौडेलले लेखेका छन्, ‘यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्।’
नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ।