एमाले विभाजनको संघारमा, यी नेताको अबको यात्रा कता ?

  • प्रकाशित मिति : २०७८ श्रावण २७, बुधबार
  • nepaltale.com

काठमाडौं। नेकपा एमाले विभाजन अब विभाजनको संघारमा पुगेको छ। केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका साथ एउटै लहरमा बसेर एकताको ‘जेस्चर’ पनि देखायो । तर, ओलीको व्यवहारमा भने नेपाल पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति कुनै सकारात्मक दृष्टिकोणको संकेत देखिएन ।

ओलीले सोमबार मात्र पनि नेपाल पक्षलाई ललकार्दै भने, –‘मलाई सच्चिने अन्तिम मौका छ रे, माफी माग भनेका छन् । अब मैले दाम चढाएर उनले जस्तै वरिपरि घुमेर माफी माग्नुपर्ने ?’

ओलीले प्रधानमन्त्री रहँदा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गर्ने, अध्यादेशमार्फत सरकार चलाउने र कम्युनिस्ट पार्टीको व्यवहारअनुसार सामूहिक नेतृत्वको अभ्यास नगरेको वा पार्टीमा सल्लाह नगरी एक्लै चल्ने जस्ता व्यवहार गरेर अधिनायकवादी चरित्र आरोप लगाएको नेपाल पक्षले यसका लागि आत्मालोचना गरेर पार्टीलाई मिलाएर लानुपर्ने धारणा राख्दै आएको छ ।

ओलीको आजसम्मको व्यवहार हेर्दा जतिसुकै ठूलो उपलव्धिका लागि पनि झुक्ने सम्भावना देखिएन । प्रष्ट छ, ओलीलाई नेपाल पक्ष फुटेर बाहिर निस्केर गएको हेर्ने इच्छा छ । ओली उप्काउने र नेपाल टाँस्ने मानसिकतामा देखिएका छन् ।

अब पार्टी भित्र निर्णायक कित्ताकाट हुन लागेको छ । यसअघि एकता बचाउन सक्रिय भएका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीसँगै बढ्न नसकिने निष्कर्षमा पुगेका छन् । उनले सोमबार स्थायी कमिटी बैठकबाट निस्किएर आफू पक्षीय नेताहरुलाई सम्भावित पार्टी विभाजनका लागि तयार रहन निर्देशन दिइसकेका छन् ।

गौतमले बैठकमै ओलीको चर्को आलोचना गरी कारबाही हुनुपर्ने सम्म भने । त्यसपछि दुवैबीच चर्काचर्की भयो । त्यहाँबाट जुरुक्क उठेर हिंडेका गौतम अपरान्हको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए । उनले ओली एकताको पक्षमा नभएको निष्कर्ष निकाल्दै फरक तरिकाले जानुको विकल्प नभएको भन्दै निकटस्थसँग छलफल बढाएका छन् ।

यसैगरी, एकताका लागि मध्यमार्गी भूमिका निभाउँदै आएका उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि निराश भएका छन् । भुसालले ओली आफ्नै ढंगले बढेकाले सँगै जान नसकिने बताइसकेका छन् ।

विगतमा माधवकुमार नेपाल पक्षमा रहेर मध्यमार्गी बनेका रावलसहित ६ जना नेताले पनि चाँडै कित्ताकाट गर्ने भएका छन् । भुसाल ओलीसँग नजाने निश्चित प्रायः भएको छ । रावलसहित बाँकी नेताहरुबारे भने अन्यौल छ । योगेश भट्टराई ओली पक्षमै लाग्ने देखिएको छ । भीम रावल पनि ओलीसँग नजिकिएका छन् । तर, उनी स्थायी कमिटी बैठकमा सहभागी भएनन् ।

ओलीले एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने बताएबाट रावल उत्साही भएका छन् । उनी ओलीसँगै नजिकिने सम्भावना बढेको छ । तर, ओली पक्षको स्थायी कमिटी बैठकमा सहभागी नभएकाले परिस्थिति फरक हुन सक्ने आँकलन गरिएको छ । तर, रावलले ओली पक्षमा महत्वपूर्ण जिम्मेवारी पाउने भएकाले उतै जान सक्छन् ।

सुरेन्द्र पाण्डे पनि नयाँ दलमा जाने मुडमा देखिएका छैनन् । उनी नेपाल पक्षको बैठकमा पनि सहभागी भएनन् । तर, कोभिड १९ को कन्ट्याक्ट टेष्टमा रहेकाले नगएको भने । नेपाल खेमाबाट एमालेको नवौं महाधिवेशनमा महासचिवको निर्वाचन लडेका पाण्डे अलमलमा छन् ।

गोकर्ण बिष्ट र भीम आचार्य पनि विभाजनको पक्षमा छैनन् । बिष्टले देउवालाई विश्वासको मत पनि दिएनन् । आचार्यले माधव नेपाललाई कुनै हालतमा पार्टी विभाजन गर्न नहुने भनेका थिए । यसकारण उनीहरु नेपालले विभाजनको कदम चालेमा गइहाल्ने सम्भावना कमजोर छ ।

माधव नेपाललाई छाड्दा पनि राजनीतिक जीवन नै धरापमा पर्ने र सँगै जाँदा पनि समस्यामा पर्ने भएकाले रावलसहित ६ नेता धर्मसंकटमा छन् । एमाले विभाजन हुने निश्चितप्रायः भएपछि नेताहरु कुनै न कुनै कित्तामा जानुपर्ने वाध्यतामा परिसकेका छन् । ओली र नेपाल दुवैको कदमले उनीहरु दबाबमा परेका छन् ।