देउवा सरकारले गर्यो संसदका दुवै सदनको अधिवेशन अन्त्य

  • प्रकाशित मिति : २०७८ श्रावण ३२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् ।



संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए ।सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् । सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजान अध्यादेश लाउने तयारी थालेको छ एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले विभाजनको स्पष्ट आधार दिएमा राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्नेगरि अध्यादेश सिफारिस हुने तयारी भइरहेको उच्च राजनीतिक स्रोतको दाबी छ।