वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले वृद्धि, कुन बैंकले कति कमाए ?

  • प्रकाशित मिति : २०७८ भाद्र १, मंगलवार
  • nepaltale.com

काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा २०.०२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा बैंकहरुले ६३ अर्ब ३७ करोड ३८ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हाल नेपालमा २७ वटा वाणिज्य बैंक रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा बैंकहरुले ५२ अर्ब ८० करोड ६ लाख २३ हजार रुपैयाँ आर्जन गरेका थिए । समीक्षा अवधिमा बैंकहरुले १० अर्ब ५७ करोड ३२ लाख २३ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेका हुन् ।

गत आवमा पाँच वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा धेरैले खुद नाफा वृद्धि गरेका छन् । यस अवधिमा नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्रभु बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतभन्दा धेरैले नाफा बढाएका छन् ।

नेपाल बंगलादेश बैंकले सबैभन्दा धेरै ८४.१७ प्रतिशत (१ अर्ब ४ करोड ७७ लाख रुपैयाँ)ले बढेर २ अर्ब २९ करोड नाफा आर्जन गरेको छ भने पाँचौं ठूलो नाफा बढाएको नेपाल इन्भेष्टमेन्ट बैंकले ५०.६९ प्रतिशत (१ अर्ब २२ करोड ८३ लाख रुपैयाँ)ले नाफा बढाएर ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस अवधिमा मेगा, प्राइम, ग्लोबल आइएमई, सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक र नबिल बैंकले ३० देखि ४५ प्रतिशतसम्म नाफा बढाएका छन् भने माछापुच्छ्रे, सानिमा, हिमालयन, एनसीसी, कृषि विकास बैंक, सनराइज बैंकको नाफा १० देखि ३० प्रतिशत बीचमा बढेको छ । यस अवधिमा लक्ष्मी, बैंक अफ काठमाण्डू, एनआईसी एशिया बैंक, र सिभिल बैंकको नाफा सामान्य बढेको छ ।

गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ५० करोड खुद नाफा आर्जन गर्दा ग्लोबल आइएमई बैंकले पनि ४ अर्ब १२ करोड बढी खुद नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, र नेपाल बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

अन्य आठ वाणिज्य बैंकहरु हिमालयन, सिद्धार्थ, एनएमबि, मेगा, नेपाल बंगलादेश, सानिमा, प्रभु बैंक र कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । एभरेष्ट, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमाण्डू, सनराइज, स्ट्याण्डर्ड चार्टड, र एनसीसी बैंकले २ अर्बभन्दा कम १ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

गत आर्थिक वर्षमा तीन वाणिज्य बैंकहरु नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको नाफा १ अर्बभन्दा कम नाफा कमाएका छन् । जबकी गत आवमा ६ बैंकले १ अर्बभन्दा धेरैले आफ्नो खुद नाफा बढाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, एनएमबि बैंक, र प्राइम कमर्सियल बैंक गरी ६ बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा १ अर्बभन्दा धेरैले बढेको हो ।

यस अवधिमा पाँच वाणिज्य बैंकको नाफा भने अघिल्लो आवको तुलनामा घटेको छ । यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टड, नेपाल एसबिआई बैंक, र एभरेष्ट बैंकको नाफा घटेको छ ।

गत आवमा नेपाल एसबिआई बैंकको खुद नाफा सबैभन्दा धेरै ३७.७४ प्रतिशत (५८ करोड २३ लाख रुपैयाँ)ले घटेर ९६ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ भने सबैभन्दा कम घटेको सेञ्चुरी बैंकको ६.७७ प्रतिशत (५ करोड ४५ लाख रुपैयाँ)ले घटेर ७५ करोड ३६ हजारमा सीमित भएको छ ।