किन मन्त्री बन्नबाट रोकिए विनोद चौधरी ?

  • Published Date : २०७८ भाद्र १, मंगलवार
  • nepaltale.com

काठमाडौँ। शिक्षा व्यवसायी उमेश श्रेष्ठलाई मन्त्रिपरिषदमा सामेल गरिएपछि त्यसले एक प्रकारको तरङ्ग पैदा गरेको छ । मन्त्री बनाएका अन्य कैयन मानिसभन्दा योग्य र क्षमतावान भए पनि उनले सांसद र मन्त्री बन्न अपनाएको ‘बाटो’लाई लिएर नकारात्मक टिप्पणी शुरु भएको हो ।

दशकअघिसम्म वामपन्थी कम्युनिस्ट विचारप्रति प्रतिबद्ध रहेका उमेश श्रेष्ठलाई दीपकुमार उपाध्यायलगायतले ‘सांसद बन्ने गरी’ काङ्ग्रेसमा जोडेपछि उनी शेरबहादुर देउवाको खास मानिसका रूपमा रहँदै आएका छन् । सभापति देउवाभन्दा पनि उमेशलाई आरजु राणाको निकटतम् व्यक्तिको रूपमा लिइन्छ र, यसपटक राज्यमन्त्री बनाउन पनि आरजुकै निर्णायक भूमिका रहेको बताइन्छ ।



प्राप्त जानकारीअनुसार शेरबहादुर देउवा ख्यातिप्राप्त उद्यमी विनोद चौधरीलाई मन्त्री बनाउन चाहन्थे । तर पत्नी आरजुको रोजाइ उमेश बने । आरजुले ‘विनोद चौधरी अघिल्लो संसद् (संविधानसभा)मा एमालेबाट प्रतिनिधित्व गर्थे, अहिले भर्खर काङ्ग्रेसमा जोडिएका छन्, भोलि कता पुग्छन् थाहा छैन’ भन्दै उमेशको सिफारिस गरेकी थिइन् । उनी आफूले मात्र होइन, देउवाका निकटतम् अन्य केही नेताहरूलाई समेत चौधरीका विरुद्धमा ‘लबिङ’ गर्न लगाएकी थिइन् । त्यसो त चौधरीको क्षमता र आर्थिक हैसियतबाट आत्तिएका केही काङ्ग्रेस नेताहरू पहिलेदेखि नै चौधरीविरुद्ध क्रियाशील भैरहेका थिए । एक पटक मौका पाएमा चौधरी सिङ्गै काङ्ग्रेस आफ्नो काबुमा राख्न सक्छन् भन्ने त्रास ती नेताहरूमा रहेको पाइएको छ । उनीहरूले चौधरीलाई मन्त्री बन्न नदिन चर्को दबाब पैदा गरेका थिए । यसरी प्रतिस्पर्धी नेताहरूले विनोद चौधरीको बाटो छेक्न दबाब पैदा गर्नुलाई स्वभाविक मानिए पनि आरजु स्वयम् चौधरीको बाटोमा तगारो बन्नुलाई आश्चर्यजनक मानिएको छ ।