अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी

  • प्रकाशित मिति : २०७८ भाद्र १४, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ ।

अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १०औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।



विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ । न्यूअर्लियन्स नजिकै अस्पतालको छाना आँधीले उडाएको छ । आँधीकै कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ।

दुई सय किलोमिटर प्रतिघण्टा वेगको गतिमा अघि बढिरहेको आँधीले थप विनाश निम्त्याउन सक्ने अमेरिकी राष्ट्रिय मौसम विभागले चेतावनी दिएको छ ।

लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन्। यसअघि कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको मृत्यु भएको थियो ।