सभामुखले बोलाएको सर्वदलीय बैठक सकियो, के-के भयो छलफल ?

  • Published Date : २०७८ भाद्र २८, सोमबार
  • nepaltale.com

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा गरिरहेको अवरोध खुलाउनेबारेमा बसेको उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकबाट कुनै निष्कर्ष निस्किन नसकेको जानकारी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिए।



उनका अनुसार प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित नभएपछि संसदको गतिरोध हटाउनेबारे बैठकले ठोस निर्णय लिन नसकेको हो।

बैठकपछि बाहिरिँदै सत्तारुढ गठबन्धन जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले पार्टी नै फुटिसकेको अवस्थामा एमालेले संसद अवरोध गरिरहनु ठीक नहुने बताइन्।

‘उहाँ (सभामुख)ले प्रयास गर्दै हुनुुहुन्छ । उहाँले त्यहीँ भन्नुभएको छ । प्रतिपक्ष नै नआएसम्म निष्कर्षमा पुगिँदैन भन्ने नै रह्यो । त्यही भएर प्रतिपक्षलाई समेत सहभागी गराएर बैठक गर्न अनुरोध गरेका छौ’, पौडेलले सहभागी राजनीतिक दलका प्रतिनिधिले दिएको सुझावबारे बताइन् ।

उनले बैठकअघि सभामुख र कानुन मन्त्रीले प्रतिपक्ष दलका नेताहरुलाई हटलाइनमा फोन गर्दा सो पार्टीका अध्यक्षले नै आजको बैठकमा उपस्थित हुन सकिदैन भन्ने जवाफ दिएको सभामुखले ब्रिफिङ गरेको पनि जानकारी दिइन् ।

उनले बैठकमा सहभागी दलका नेताहरुले सदनलाई अनिर्णयको बन्दीबाट मुक्त गर्न प्रतिपक्ष सहभागी हुनैपर्ने भन्दै कानुन अनुसार नेकपा एकीकृत समाजवादी गठन भएकाले समाजवादी पार्टी सहभागी बैठकमा आउँदिन भन्नु हठ र इगोमात्रै भएको प्रतिक्रिया दिइन् ।

‘सदनमा प्रतिपक्षको मुख्य भुमिका हुन्छ । छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । कानुन अनुसार एकीकृत समाजवादी बनेको अवस्थामा हठ र इगो लिएर प्रतिपक्षको भुमिका निश्कृय गराउन मिल्दैन । विधि प्रक्रिया अनुसार जानुपर्छ र निकास दिनुपर्छ’, बैठकपछि पौडेलले भनिन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए।

एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सभामुखले त्यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए।

सभामुख सापकोटाले बोलाएको बैठकमा नगएको प्रमुख प्रतिपक्षी एमालेले सापकोटालाई पदबाट राजीनामा दिन दबाब दिएको छ।