वर्ल्ड लिंकका झन्डै ५ लाख ग्राहक, कुन कम्पनीका कति ?

  • Published Date : २०७८ आश्विन १, शुक्रबार
  • nepaltale.com

काठमाडौं। नेपालमा १६ लाख ३२ हजार ७६४ ग्राहकहरूले विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीका इन्टरनेटहरू जडान गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साल असार महिनाको एमआइसएस प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा ४४ वटा कम्पनीले ग्राहकहरूलाई इन्टरनेट सेवा प्रदान गरिरहेको जनाएको छ ।



तीनै ४४ वटा कम्पनीहरूमा भर्खरै बजारमा आएको सिजिनेट पनि समावेश भएको छ । यस कम्पनीका ५६७ ग्राहकहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

यहाँ हामीले सबैभन्दा बढी ग्राहक भएका १० कम्पनीहरूको सूची तयार पारेका छौँ । यो सूचीको अग्रस्थानमा वर्ल्ड लिंक रहेको छ । वर्ल्ड लिंकले नेपालका विभिन्न जिल्लामा गरी ४ लाख ८५ हजार १३९ ग्राहक बनाएको छ भने दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका २ लाख ९० हजार २३ ग्राहक छन् । यो सूचीमा मोबाइलबाट इन्टरनेट सेवा लिनेहरूको सङ्ख्या समावेश गरिएको छैन । केवल, वायरलेस र फाइवर इन्टरनेट जडान गर्नेहरूको सङ्ख्यामा मात्र यो सूचीमा समावेश गरिएको हो ।

तेस्रो नम्बरमा रहेको सुविसु केबल नेटका २ लाख १० हजार ५१३ ग्राहक छन् भने चौथो नम्बरमा रहेको क्लासिक टेकको १ लाख ५७ हजार ८८५ ग्राहक छन् ।

भायानेट १ लाख ४२ हजार १३१ ग्राहकका साथ पाँचौँ नम्बरमा रहेको छ भने यसपछिका सूचीमा अटाएकाहरूको ग्राहक सङ्ख्या १ लाख भन्दा कम छ ।

वेवसफर ७४ हजार ४२ ग्राहकका साथ सूचीको छैटौँ नम्बरमा छ भने चितवनबाट सञ्चालनमा आएको टेकमाइण्ड्स ६६ हजार ८३४ ग्राहकका साथ सातौँ नम्बरमा रहेको छ । सूचीको आठौँ नम्बरमा १८ हजार ५७० ग्राहक भएको विराटनगरबाट सञ्चालनमा आएको कनेक्ट नेपाल छ भने नवौँ नम्बरमा १४ हजार ८८४ ग्राहकका साथ एरो नेट रहेको छ ।

सूचीको अन्तिम अर्थात् १० नम्बरमा ११ हजार १४० ग्राहकका साथ प्रभु डिजिटल रहेको छ ।

४४ वटा इन्टरनेट सेवा प्रदायक (आई एसपी) कम्पनीमध्ये कैलालीको धनगढीबाट सञ्चालनमा आएको शिखर नेट प्रालि का ३० जना मात्र ग्राहक छन् । यो सबैभन्दा कम ग्राहक सङ्ख्या भएको आई एसपी हो ।