यी हुन् कांग्रेसबाट मन्त्री बन्नेहरु, स्वास्थ्य राज्यमन्त्रीको पद धरापमा

  • Published Date : २०७८ आश्विन २०, बुधबार
  • nepaltale.com

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाडमा सहमत्ति भएपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारको ढोका खोलेको हो ।

गठबन्धन दलबीच कांग्रेसले ७, माओवादीले ६ र एकिकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ४४ मन्त्रालय पाउने भएका छन् । मन्त्रालय बाँडफाँडको काम सकिएपछि अब बिहीबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।



कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सूचना तथा प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । कांग्रेसबाट मन्त्री बनाउने विषयमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलासँग सभापति देउवाले छलफल गर्ने हुनुभएको छ । पौडेल पक्षले कांग्रेसले पाउने कूल हिस्सामा ४० प्रतिशत दाबी गरिरहेको छ ।

मन्त्रिपरिषद् विस्तार हुने भएसँगै कांग्रेसमा मन्त्री बन्नेहरुको चर्चा हुन थालेको छ । कांग्रेसबाट मन्त्री हुनेमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, राजन केसी, सञ्जय गौतम, तेजुलाल चौधरी, उमाकान्त चौधरी र पुष्पा भुषालको चर्चा छ ।

चर्चा ज जसको भएपनि बडु, रिजाल, उमाकान्त र पुष्पाको मन्त्री बन्ने सम्भावना धेरै रहेको स्रोतले बताएको छ । कांग्रेसले पुष्पालाई कानुन मन्त्री दिएर अहिलेका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरेको छ ।

मन्त्री नियुक्त हुनासाथ व्यापारीलाई मन्त्री बनाएको भन्दै विवादमा मुछिनुभएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको मन्त्री पद भने धरापमा पर्ने देखिन्छ । ‘कार्कीलाई स्वास्थ्य मन्त्री बनाएपछि श्रेष्ठ राजयमन्त्रीबाट पनि आउट हुने सम्भावना धेरै छ’, स्रोतले भनेको समाचार इमेज खबरले प्रकाशित गरेको छ ।

यसैबिच जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । मन्त्रीको नाम चयन लगायतका विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । उनले भने, ‘कार्यकारिणी समितिको बैठकबाट नाम नै टुंगो त लाग्दैन तर कस्तो व्यक्तिलाई पठाउने, नयाँ अनुहार पठाउने कि पुरानैबाट पठाउने लगायतका विषयमा मापदण्ड तयार गरी नेताहरुले नाम टुंगो लगाउनु हुनेछ ।’

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । अध्यक्ष यादवले मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् । जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ । जसपा नेपालमा मन्त्रीका आकांक्षी धेरै छन् ।

स्रोतका अनुसार शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउन र नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी भइरहेको छ ।