काठमाडौं। पकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार मृत्यु हुनेमा ६ जना बालबालिका छन् ।
सुरुमा ६ म्याग्निच्यूडको भूकम्प गएको भनिए पनि पाकिस्तानका बलुचिस्तानका स्थानीय अधिकारीहरुले भूकम्प ५.७ म्याग्निच्यूडको रहेको उर्दु बीबीसीलाई जानकारी दिएका छन् ।
बिहीबार बिहान करिब साढे ३ बजेतिर भूकम्प गएको हो ।
भवनहरु भत्किएर त्यसमा च्यापिएर २० जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले जनाएका छन । हालसम्म १५० जना घाइते भएको पुष्टि भएको छ ।
घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । यसमा केही गम्भीर घाइतेहरु पनि रहेका छन् ।