वागमती प्रदेशको सत्ता बाट एमालेले हात धुँदै, मुख्यमन्त्री पड्काउँन को-को तम्सिए ?

  • Published Date : २०७८ आश्विन २१, बिहीबार
  • nepaltale.com

काठमाडौं। नयाँ सरकार गठनका लागि बागमतीमा गठबन्धनबीच रस्साकस्सी चलिरहेको छ । नेकपा एकीकृत समाजवादीले बागमतीमा मुख्यमन्त्री पाउने चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दुई महिनाका लागि भए पनि मुख्यमन्त्री बन्नुपर्ने दबाब प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको एक प्रदेशसभा सांसदले बताएका छन् । उनले मुख्यमन्त्री बन्न गरेको प्रस्तावमाथि कांग्रेसभित्रै चर्को विरोध भइरहेको छ । पार्टी महाधिवेशनका बेला बानियाँले मुख्यमन्त्री दाबी गरेको भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले केही दिनअघि सार्वजनिक रुपमै आपत्ति जनाएका थिए ।



आफ्नै पार्टीभित्रबाट विरोध भएपछि मुख्यमन्त्री बन्ने झिनो सम्भावना बोकेका बानियाँलाई बागमतीको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि साथ नदिने संकेत गरेको छ । माओवादी केन्द्रले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन साथ दिने भएको छ । माओवादीका एक प्रदेश सांसदका अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने जानकारी दिए ।

‘बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका छन् । तर, हाम्रो पार्टीले पाण्डेलाई समर्थन गर्छ,’ माओवादीका एक सांसदले भने । उनी भन्छन्, ‘कांग्रेसलाई मुख्यमन्त्री दिने विषय बन्यो भने माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गर्छ । कांग्रेसभन्दा ठूलो दल प्रदेशसभामा माओवादी केन्द्र छ । कांग्रेसलाई मुख्यमन्त्री किन दिने ?’

एकीकृत समाजवादीका बागमती प्रदेशकी प्रमुख सचेतक मुनु सिग्देलले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने गठबन्धनमै सहमति भइसकेको बताइन् । ‘बागमतीमा एकीकृत समाजवादीबाट राजेन्द्रजी सरकारको नेतृत्व गर्नुहुन्छ । कांग्रेसले मुख्यमन्त्री मागेको मात्रै हो । कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरामा सत्यता छैन्,’ सिग्देलले भनिन् ।

माओवादी केन्द्रले बागमतीमा मुख्यमन्त्रीका लागि दाबी गरेको छैन । अन्य प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेकाले बागमतीमा दाबी नगर्ने ती सांसदको भनाइ छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि सार्वजनिक कार्यक्रममा बागमतीमा र १ नम्बर प्रदेशमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको बताउँदै आएका छन् ।

अल्पमतमा रहेकी एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन २४ असोजमा प्रदेशसभाको नवौँ अधिवेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेकी छन् । सरकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले विश्वासको मत लिने जानकारी दिए । उनका अनसार २४ असोजमा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस हुनेछ ।

बागमतीमा स्पष्ट बहुमतसहित सरकार चलाउँदै आएको नेकपा एमाले सरकारबाट बाहिरिने निश्चित छ । पार्टी विभाजनसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन । सरकार बनाउन ५५ मत आवश्यक पर्छ भने एमालेसँग जम्मा ४३ मत मात्रै छ ।

५६ मतसहित सरकारको नेतृत्व गरिरहेको एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि सरकार ढल्ने निश्चित भएको हो । साना दलको समर्थन खोजे पनि एमालेले सरकार टिकाउन नसक्ने अंक गणित छ । एमालेलाई समर्थन गर्न सक्ने दल राप्रपा र नेपाल मजदुर किसान पार्टीसँग २-२ जना सांसद छन् । जुन मतले शाक्य नेतृत्वको सरकार टिक्दैन् । सरकार जोगाउन शाक्यलाई १२ मत आवश्यक पर्छ । ३ सांसद रहेको विवेकशील साझा पार्टीले यसअघि नै शाक्यलाई समर्थन नगर्ने जनाइसकेको छ । एक स्वतन्त्र सांसद पनि गठबन्धननिकट रहेका छन् ।

बागमतीको राजनीतिमा कुनै ठूलो उथलपुथल नभए करिब साढे ३ वर्ष सरकार चलाएको एमाले सत्ताबाट बाहिरिने निश्चित छ । साढे तीन वर्षअघि २९ माघमा बागमतीको मुख्यमन्त्रीमा डोरमणि पौडेलले नेतृत्व गरेका थिए । तत्कालीन नेकपाबाट पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा बागमती प्रदेश सरकार गठन भएको थियो । पौडेलले गत २ भदौमा पार्टीको एकता कायम राख्न भन्दै शाक्यलाई मुख्यमन्त्री बनाएर सरकारबाट बाहिरिएका थिए ।