आजै सपथग्रहण, को को बन्दैछन् मन्त्री ?

  • Published Date : २०७८ आश्विन २२, शुक्रबार
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ११ बजेभित्र मन्त्री बन्ने नेता तथा सांसदहरुको नाम दिन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्। उनले आजै दिउँसो ४ बजे सपथग्रहण गराउने गरी मन्त्रिपरिषद् विस्तार गर्दैछन्। त्यसैले बिहान ११ बजेभित्र मन्त्री हुनेहरुको नाम बुझाउन सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई आग्रह गरिएको हो।

आज विस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्नेहरुको नाम सत्ता साझेदार सबै दलहरुले मोटामोटी तयार गरिसकेका छन्। प्रधानमन्त्री देउवाको पार्टीभित्र केही विमती रहे पनि अरु दलहरुले अन्तिम नामावली तयार गरिसकेका छन्। माओवादी केन्द्रले मन्त्री बन्ने नेताहरुको नाम नै सार्वजनिक गरिसकेको छ। मात्र ती नेताहरुले कुनकुन मन्त्रालय सम्हाल्ने छन् भन्ने निक्र्योल हुन बाँकी छ।



अब विस्तार हुने मन्त्रिपरिषद्अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले समान ४–४ मन्त्रालय पाउने छन्। त्यस्तै कांग्रेस २ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीले एकएक राज्यमन्त्रीसमेत पाउने भएका छन्।

सत्ता गठबन्धन निर्माण हुँदा चारवटा दलले समान मन्त्रालय भागबन्डा गर्ने भद्र समझदारी गरेका थिए। बीचमा कांग्रेसले संघीय संसदमा दलहरुको सांसदहरुको संख्याको आधारमा मन्त्रालय बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सार्‍यो। फेरि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन मुखैमा रहेकाले पार्टीलाई ८ वटा मन्त्रालय चाहिने माग गरेको सत्ता गठबन्धनका एक शीर्ष नेताले जानकारी दिए।
बिहीबार बसेको सत्तापक्षी गठबन्धनको बैठकले मन्त्रालयको संख्या टुंग्याएको थियो।

उनका अनुसार प्रधानमन्त्री देउवाले मागिएको थप मन्त्रालय पार्टीको महाधिवेशन सकिएपछि दलहरुलाई नै फिर्ता गर्ने शर्तमा अहिलेलाई आफूलाई बढी मन्त्रालय दिन माग गरेका हुन्। प्रधानमन्त्री देउवालाई पार्टीभित्र सहज बनाउने र महाधिवेशनमार्फत देउवालाई पुनः सभापति जित्न सहयोग पुग्ने गरी कांग्रेसलाई थप मन्त्रालय दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव तयार भएका छन्।

सोही सहमतिअनुसार शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको हो। ११ बजेपछि बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् विस्तारको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने र राष्ट्रपतिबाट स्वीकृत भएपछि आजै दिउँसो ४ बजे सपथ ग्रहण हुने प्रधानमन्त्रीको निजी निवास बालुवाटार स्रोतले जनाएको छ।

को को बन्दैछन् मन्त्री ?
अहिले प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन्। कांग्रेसबाट प्रधानमन्त्रीसहित पाँचजना मन्त्री भइसकेकाले बाँकी ३ मन्त्रालयमा कांग्रेसको तर्फबाट मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, पुष्पा भुसालमध्ये मन्त्री हुने सम्भावना छ।

कांग्रेसले स्वास्थ्य छाडेर सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय लिने भएकाे छ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। देउवा सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल पहिले नै नियुक्त भइसकेका छन्। माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ।

एकीृकत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का गरिसकेको छ। तैपनि मेटमणि चाैधरी, जीवनराम श्रेष्ठ र भवानी खापुङ पनि मन्त्रीको लाइनमा छन्। यसले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ।

जनता समाजवादीले राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्रकुमार सिंह, मोहम्मद इस्तियाक राई, रेणु यादव मन्त्री बन्ने लाइनमा छन्। जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ।