प्रचण्डकै कारण आज हजारौं नेपालीहरू विदेश पलायन भए : प्रभु साह

  • प्रकाशित मिति : २०७८ कार्तिक ५, शुक्रबार
  • nepaltale.com

काठमाडौं। पुर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण ‘खिचडी संसदीय व्यवस्था’ लागु गरी देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने काम भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आज साहले देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने प्रचण्डकै कारण हजारौं योग्य नेपाली विदेश पलायन हुन बाध्य भएको जनाएका छन् ।

केही सञ्चारमाध्यममा साह माओवादी प्रवेश गर्न लागेको भनेर आएको समाचारको खण्डन गर्दै उनले प्रयोजित समाचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

‘केही अनलाइनहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य छ’ नेता साहले लेखेका छन् ।

आफनो ब्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरि सिंगैं देशलाई नै अस्थिरताको खाडलमा धकेलने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी क्रान्तिकारीहरु एकताबद्ध हुन नसक्ने उनले स्पष्ट पारेका छन् ।

वर्तमान राजनीतिक संकटको अग्रगमी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता रहेको बताउँदै साहले त्यसका लागि आफू निरन्तर क्रियाशील रहेको जनाएका छन् । तर जनतालाई धोखा दिने अनैतिक।असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा त्यो सम्भव नभएको निष्कर्ष उनको छ ।