कोरोनाबाट प्रभावित उद्योगी, व्यवसायीलाई राहत दिन आवेदन माग

  • प्रकाशित मिति : २०७८ कार्तिक १५, सोमबार
  • nepaltale.com

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावितभएका उद्योग व्यवसायलाई राहत दिने तयारी गरेको छ । कोरोना महामारीका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने उद्देश्यका साथ केन्द्रीय बैंकले आवेदन माग गरेको छ ।

राष्ट्र बैंकले इजाजत लिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो । नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधनअनुरुप एकमुष्टरुपमा लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, साधारण पुनःकर्जा तथा विशेष पुनःकर्जाका लागि आवेदन अनुरोध गरेको छ ।

आवेदन दिने समयआगामी पुस १९ गतेसम्मका लागि तोकिएको छ। कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिने तयारी छ ।

पर्यटन क्षेत्र, होटल, मनोरञ्जन क्षेत्र, तयारी पोशाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुबाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

यस्तै मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन् ।