५ महिनामा सरकारले गर्यो साढे १४ अर्ब रकमान्तर

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • nepaltale.com

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा झण्डै साढे १४ अर्ब रुपैयाँ रकमान्तर तथा निकासा गरेको छ। अर्थमन्त्रीमा जनार्दन शर्मा आएयता ५ महिनामा देउवा सरकारले १४ अर्ब ४१ करोड रुपैयाँ रकमान्तर तथा निकासा गरेको हो।

अर्थले भौतिक सुविधा, भइपरी आउने (साधारण प्रशासन), आर्थिक सहायता, दण्ड जरिवाना फिर्ता, भन्सार फिर्ता, कर फिर्ता, विशिष्ट व्यक्तिको भ्रमण खर्च, प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च, अन्य फिर्तालगायतका शीर्षकमा उक्त रकम निकासा गरेको जनाएको छ।

यसअनुसार साउन र मंसिरमा सबैभन्दा धेरै रकम निकासा भएको देखिएको छ। अर्थले सार्वजनिक गरेको विवरणअनुसार साउनमा ६ अर्ब ३६ करोड ९३ लाख ९९ हजार ८ सय ४६ रुपैयाँ, भदौमा २ करोड १६ लाख ९४ हजार ८७ रुपैयाँ, असोजमा ३८ करोड ३१ लाख ७८५ हजार ७ सय ५१ रुपैयाँ, कात्तिकमा १६ करोड ५ लाख ४४ हजार ९ सय ३१ रुपैयाँ र मंसिरमा ७ अर्ब ४९ करोड ६ लाख ३० हजार ३८७ रुपैयाँ निकासा गरिएको छ।